Logo
Ad

पहिलो बिहावर पर्यटन महोत्सवका आकर्षण यस्ता छन्

१० वैशाख, काठमाडौं

यही वैशाख १५ देखि १७ गतेसम्म बिहावर क्षेत्रमा पहिलाेपटक हुने लागेकाे पर्यटन महोत्सवमा रोचक प्रस्तुति र कार्यक्रम हुने भएका छन् । काठमाडौंबाट ४२ किलोमिटर दक्षिण पूर्वमा रहेको बिहावर (कुशादेवी र रयाले) क्षेत्रमा पहिलोपटक हुन लागेको महोत्सवमा प्याराग्लाइडिङदेखि, साइक्लिङ, हाइकिङ, म्याराथन, सांस्कृतिकसहितका विभिन्न रोचक कार्यक्रम हुँदैछन् । पोखरापछि काठमाडौंबाट नजिकको दुरीमा अनुमति लिएरै प्याराग्लाइडिङ हुन लागेको यो पहिलोपटक हो ।

क्याप्टेन रामेश्वर थापा संयोजक रहेको बिहावर क्षेत्र पर्यटन महोत्सव मूल समारोह समितिले वैशाख १५ गते पर्यटनमन्त्री रविन्द्र अधिकारी र संचार राज्यमन्त्री गोकुल बास्कोटाले सहितका तीन दिने कार्यक्रम सार्र्वजनिक गरेको छ । कुशादेवी सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले बिहावर क्षेत्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक विषयको प्रवद्र्धनकासाथै हिमाल, वनजंगलको दृश्यावलोकनका साथै हिमाल, वनजंगलको दृश्यावलोकनका साथै प्याराग्लाइडिङ, साइक्लिङको माध्यमबाट साहसिक पर्यटनको नयाँ गन्तव्यको रुपमा प्रवद्र्धन गर्नका लागि महोत्वसको आयोजना लागेको जानकारी दिए ।

साविकका रयाले गाविस अहिले पनौती नगरपालिका १ र कुशादेवी २ र ३ नम्बर वडामा पर्छन् । बिहावर क्षेत्र भक्तपुर, ललितपुरको महालक्ष्मी नगरपालिका, फूलचोकी क्षेत्रसम्म सीमा जोडिएको छ । यो क्षेत्र काठमाडौंबाट भक्तपुर, बनेपा, पनौती हुँदै ४२ किलोमिटरको दुरीमा छ भने ललितपुरको ग्वार्को, लाकुरीभन्ज्याङ,मानेदोभान हुँदै २१ किलोमिटर टाढा पर्छ ।

महोत्सवको उद्घाटन वैशाख १५ गते १२ बजे गुर्दुमडाँडामा प्याराग्लाइडिङ बाट हुँदै छ । यस अघि नै प्याराग्लाइडिङको परीक्षण उडान भइसकेको छ । पहिलोपटकको परीक्षण उडानपछि प्याराग्लाइडिङ उडानका लागि अनुमति लिइसकिएको समाजका सचिव अधिकारीले जानकारी दिए ।

यस्ता छन् पर्यटन महोत्सवका कार्यक्रम

महोत्सवको पहिलो दिन २०७५ बैशाख १५ गते विहान ८ बजे हाइकिङ (पनौती नगरपालिका वडा नं ३ चालिसेबाट शुरु भई पुछारी हुदै गुर्दुम पुग्ने र साथमा स्थानीय खैजडी भजन र झाक्री नाच सहितको झाँकीहरुको प्रस्तुती) हुनेछ । सोहि दिनको दिउसो १२ बजे प्याराग्लाइडिङ कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रमको पर्यटन मन्त्री माननीय रविन्द्रप्रसाद अधिकारी र माननीय सूचना तथा सञ्चार राज्यमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । २०७५ बैशाख १६ गते विहान ८ बजे हाफ म्याराथुन (पनौती नपा वडा नं ३ पशुपति मन्दिरबाट शुरु भइ सिम्लाबोट, रानीकोट, लाकुरी भन्ज्याङ, मानेदोभान हुदै कुशादेवी मन्दिरमा आएर समापन) हुनेछ ।

२०७५ बैशाख १७ गते विहान ८ बजे साइक्लिङ (पनौतीनपा वडा नं २ कुशादेवी मन्दिरबाट शुरु भइ पर्खालचौर, मानेदोभान, खानीडाडा, लठ्ठाभन्ज्याङ, लाँकुरीभन्ज्याङ, रानीकोट, पाँचकन्या, पशुपतिमन्दिर हुदै कुशादेवी मन्दिरमा समापन) हुनेछ ।

महोत्सवको तिनै दिन पनौती वडा नं २ र ३ को संयुक्त कार्यालय अगाडिको चौर कुशादेवीमा विविध साँस्कृतिक कार्यक्रमहरु आयोजना हुनेछन् । सांस्कृतिक कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । स्थानीय कला संस्कृतिको समेत प्रवद्र्धन गर्ने उदेश्यले बैशाख १५–१७ सम्म ३ दिने विहावर क्षेत्र पर्यटन महोत्सवको आयोजना गरिएको छ ।

महोत्सवको करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ । प्याराग्लाइडिङ, साइक्लिङ र हाफ म्याराथुन यो महोत्सवको मूख्यआकर्षण हुन् । स्थानीय खैजडी भजन, झाक्रीनाँच, लोकदोहरी, कन्सर्टका साथ मा विविध मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय कृषि उपज प्रदर्शनी महोत्सवका थप आकर्षण हुन ।

महोत्सवमा कुशादेवी मावि प्राङ्गणमा स्थानीय सामग्रीहरु, कृषि उत्पादन, स्थानीय जडिबुटि, स्थानीय घरेलु उत्पादनका स्टलहरु राखिनेछन् ।कुशादेवी विहावर क्षेत्र आफैमा पर्यटकिय र कृषिको सम्भावना बोकेको क्षेत्र हो । समुद्र सतहबाट करिब २७०० मिटर अग्लो फुलचोकी जैविकविविधता, क्लाउड फरेष्ट, पंक्षिअवलोकन (२८० प्रजातिका चराचुरुङ्गीको वासस्थान मानिएको), चितुवा, बँदेल, मृग, सालक, दुम्सी, बनविरालो, मलसाप्रो, चरिबाघ, काठेभालु लगायतका जंगली जनावरले यस भेगलाई थप रमणीय बनाएको छ ।

जिल्लाको पनौती नगरपालिको पश्चिमतर्फ अवस्थित बीस गाउँ विहावरका नामले प्रख्यात क्षेत्र हो । प्राचिनकालदेखि नै काठमाडौ उपत्यका प्रवेशको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा यो भेगको उपयोग भएको कुरा विभिन्न तथ्यहरुले देखाउछन् । काठमाडौबाट करिब एक डेढ घण्टामा नै यो क्षेत्रको प्रवेश विन्दुमा पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्