Logo
Ad

झुपडी र गरिबलाई नछुने बजेट : डा. संग्रौला

१ जेठ । काठमाडौं

काँग्रेस सांसद डा. डिला संग्रौलाले सरकारले ल्याउँन लागेको बजेट कनिका छरेजस्तै हुने टिप्पणी गरेकी छिन् । प्रिबजेट छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्ष दल कांग्रेसकी नेतृ संग्रौलाले सरकारले ल्याउँन लागेको कार्यक्रममा प्रभावकारी र योजनावद्ध विकासका कार्यक्रम नै नभएको बताएकी हुन् ।

बजेट एमालेको घोषणापत्र र जवजमा आधारित रहेको भन्दै यसले नीजि क्षेत्रलाई नछोएको र उत्साहित पनि गर्न नसक्ने बताइन् । सबै नेपाली समृद्ध र सबै सुखी नेपालीको नारा बाँडिए पनि लाखौ विदेशिएका युवा लक्षित र बेरोजगार लक्षित कार्यक्रम नभएको, विदेशमा कमाएको पैसालाई लगानी गर्ने कार्यक्रम नभएको, गुणस्तरीय र प्राविधिक शिक्षा नभएको, स्वास्थ्यमा पोषण र आहारबारे नबोलेको आरोप लगाइन् ।
नेपालकै प्राथमिकताको क्षेत्र कृषि भएको तर यसलाई आधुनिक र वैज्ञानिक बनाउँने विषयमा कार्यत्रम नल्याएको, स्थानीय तहको काम गराईलाई व्यवस्थित बनाउँने कार्यक्रम नल्याएको, भूकम्पपीडितलाई अझै सम्बोधन गर्न नसकेको, रुग्ण उद्योगलाई प्रभावकारी ढंगले संचालन गर्ने कार्यक्रम नभएको पनि उनले बताइन् ।

राजस्व वृद्धि गर्ने भनिए पनि करको दायरा बढाउँने बाहेकका व्यवहारिक योजना नै नभएको, ऐतिहासिक, सांस्कृतिक सम्पदालाई पर्यटनको केन्द्र बनाउँन सकिने भए पनि योजना नल्याएको भन्दै उनले असन्तुष्टि पोखेकी हुन् ।

केही ठूला आश्वासन बाँडे पनि झुपडीदेखि गरिब बस्ती र बासिन्दालाई बजेटले नछुने उनको भनाइ छ । समृद्ध नेपाल र सुखी नेपाल बनाउँने हो भने सबै दलको सहमतिमा हिड्नुपर्ने र यस्ता बजेट जस्तो महत्वपूर्ण विषयमा प्रभावकारी छलफल गर्नुपर्ने बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्