Logo
Ad

ताेडिंदैछ पिंजडा : हाल्नुछ स्वतन्त्रताको पखेटा 

क्रान्ति पराजुली 

उहाँ उहाँ ………

यो एउटी छोरीको पहिलो आवाज
पराई घर जान्छु भनि
यो अन्धविश्वासी समाजको आवाज

वा क्या क्यूट, वा क्या क्यूट
ठ्याक्कै पुतली जस्ती
ठ्याक्कै गुलाब जस्ती
छोरोजस्तो जरखरिएको होइन
त्यसैले
टिप्न खोज्छन् साराले
होस् गरेर हिड है भन्छिन् आमा
बाबा यो कस्तो बुझाई, यो कस्तो
दृष्टिकोण
मलाई त टिप्न खोज्नेलाई घोच्न सक्ने काँडा बन्नु छ

वा क्या ब्यूटिफुल, वा क्या हट, वा क्या सेक्सी
यस्तै उपाधि भिराइएको छ,
सुहाउँछ सिन्दुरले, पोतेको झुत्तोले झन खुल्दछ
यस्तै यस्तै तारिफमा भुलाइएको छ
एक चिम्टी, सिन्दुर अनि एक झुत्तो पोतेमा
बन्धक बनाइएको छ स्वतन्त्रता
बाह्रहाते पटुकी झैँ
चुलो अनि चौको मै बेरिएको मेरो जीन्दगानी
बाबा मलाई यस्तो कुचलन अमान्य छ

सुन्दरीको सिल्ड दिएर
गृहलक्ष्मीको ट्रफी भिराएर
स्वतन्त्रताको पखेटा काटिदिनेहरुलाई
मेरा रहर इच्छाहरु गुमनाम बनाई
अविश्वासको पिंजडामा कैद गरी
सियोको टुप्पोमा इज्जत खोज्नेहरुलाई
रातकी रानी
बच्चा जन्माउने साधन ठानी
सन्तुष्टिबिनाको सुखमा बाँच्न बाध्य बनाउनेहरुलाई
जीवनभरको लागि सुम्पिएको मेरो गृहष्थीलाई
लुते धन्दा उपमा दिनेहरुलाई
बाबा, म भन्न चाहान्छु
आऊ साटौँ तिम्रो मेरो जिम्मेवारी
अब तिमी लुते धन्दामा
म तिमीले सम्हालेको सत्तामा
आऊ बदलौँ इतिहास
भत्काउँ कुसंस्कारको पहाड
पूरौँ न्यायको खँदिलो माटोले अन्यायको खाडल
निर्माण गरौँ समानताको पुल
जहाँ
गुडाउँनुछ एकै रथको दुई पाङ्ग्रा

भो अब,
सुन्दरता, सरलता र सहजतामा मात्र नखोज मलाई
ज्वालामुखी विस्फोट भएपछि
भुकम्प गएपछि
हुरी तुफान चलेपछि
बाढी उर्लिसकेपछि
आकाश गर्जिसकेपछि
सोध्नु प्रकृतिलाई
वर्षौदेखिको अन्याय, अत्याचार, कुसंस्कार, कुरीति,
विभेद र दमनको पीडा कस्तो हुन्छ भनेर,

सदियौँ बित्यो
अध्यारो रातपछि उज्यालो दिन आएको छ बाबा
बाबा,
आँखा खोलेर हेर त तिम्री छोरी पिंजडा ताेडेर
खुल्ला आकाशमा उड्दै छे
स्वतन्त्रताको पखेटा फिँजाएर ।।।

हाल : काठमाडाैं

प्रतिक्रिया दिनुहोस्