Logo
Ad

प्रधानमन्त्री अब सरकारी निवासको सट्टा तीन कोठामा बस्ने, बुलेटप्रुफ गाडी बेचेर गरिबलाई खर्च गर्ने

६ भदौ । काठमाडौं
प्रधानमन्त्रीबाट एकाएक यस्तो घोषणा भएपछि विश्वभर तरंग नै फैलिएको छ । वैकल्पिक दलका रुपमा उदाएर प्रधानमन्त्रीसम्म भएका नेताले ल्याएकाे हलचल हो । तर, यो घोषणा नेपालका प्रधानमन्त्री केपी ओलीको होइन । क्रिकेटका कप्तान भएका इमरान खान पाकिस्तानको प्रधानमन्त्री हुँदै देशको कप्तान बनेपछि विश्वभर चर्चा छ । ठूला दलहरुलाई पाखा लगाउँदै वैकल्पिक शक्तिका रुपमा उदाएको दलबाट प्रधानमन्त्रीसम्म बनेपछि उनको चर्चा चुलिएको हो ।

प्रधानमन्त्री भएपछि यस अघिका प्रधानमन्त्रीले लिंदै आएको सुविधा कटौती गर्ने, गाडी, हेलिकप्टर बेचेर गरिबका लागि खर्च गर्ने जस्ता लोकप्रिय निर्णय गरेर उनी पाकिस्तानीको मात्र विश्वभरका मानिसका मनमा बस्न सफल भएका छन् । ठूलो विलासी भवनबाट तीन कोठाको भवनमा बस्ने उनको घोषणाले धेरैलाई आश्चर्यमा पारेको छ । इस्लामाबादस्थित सैनिक सचिवालयको तीनकोठे भवनमा बस्न अनुरोध गरेको छ ।

प्रधानमन्त्री निवासमा उनका लागि यस अघि भएका ५२४ कामदार अब कटौती हुने भएका छन् । जम्मा दुई काममात्र उनले लिनेछन् ।
८० कारसहित अन्य अत्याधुनिक सुविधा उनलाई छ । तर, यसमा ३३ बुलेटप्रुफ कार छुट्याइएको छ । उनका लागि अलग्गै हेलिकोप्टर र विमान छ । तर, यी सुविधा नलिने घोषणा उनले गरेका छन् ।

‘देशमा जनताका लागि खर्च गर्ने रकमको अभाव भइरहँदा अर्कोतिर हामी उपनिवेशकालीन समयमा मालिकले जस्तै सौखिन जीवनयापन गर्ने मानिसहरूको एउटा हिस्सा छ भन्दै उनले यस्ता सुविधा नलिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले भ्रमणका नाममा ६५ करोड खर्च गर्ने गरेकोप्रति पनि उनको असन्तुष्टि छ । सभामुखलाई छुट्याइएको १६ करोडमा पनि उनले असन्तुष्टि जनाएका छन् । यस्तो खर्च गरेर उनीहरुले विदेशी भूमि जित्ने हो भन्दै उनले प्रश्न उठाएका छन् ।

‘प्रधानमन्त्रीलाई छुट्याइएको ५ सय २४ कामदारमध्ये मैले दुईजना मात्र लिन्छु । म तीनकोठे भवनमा बस्नेछुु । सुरक्षा निकायले मेरो जीवन खतरामा छ भनेकाले केवल दुईवटा कार मात्र प्रयोग गर्छु । म आफ्नै निवासमा बस्न चाहेको थिएँ, तर सैनिक सचिवालयमा बस्न बाध्य भएको हुँ ।’ उनी भन्छन् ।

अन्य बुलेटप्रुफ गाडीलाई लिलामीमा बिक्री गर्न आफूले निर्देशन दिएको उनले प्रष्ट्याए । ‘लिलाम बिक्रीबाट प्राप्त रकम राज्यकोषमा जम्मा गर्छौ ।’ उनी भन्छन् । नेताहरुले विलासितामा खर्च गर्ने रकम राज्यद्वारा अपहेलित र सीमान्तकृत वर्गमा खर्च गर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्