Logo
Ad

बिछट्टै खुशीमा निलकमलमा लामबद्ध महिलाहरु

प्रदीप सापकोटा

पहाडी भित्ता भन्दा तलको गाँउ । नजिकै अविराम बगिरहेछ लिलावती खोला । रातभर पानी परेर होला मौसम पनि उघ्रेको छ । हिजोसम्म नखुलेको आकास पनि आज खुल्न बाध्य छ । र त टन्टलापुर घाम लागेको छ । तर पर्वाह छैन् रत्तिभर । वरिपरि भदौरे यामको सुन्दरताले राज गरेको छ । खेतमा धानका वाला झुल्न थालिसके । बारीमा मकैका घोगा छिप्पिने क्रममा पुष्ठिंदै छ । वारीमा कामको लठारो उत्तिकै । आलु रोप्ने याम यो । तर आज ध्यान त्यतावाट अन्यत्रै खिचिएको छ महिलाहरुको । सिंन्दुर पोते,चुराधागो र रंगीचंगी चौवन्दीचोलीमा झकिझकाउ सजिएका हुलहरुको आवागमन देखिन्छ बाटोमा । लाग्छ निर्दाेष मिहेनतकस महिलाहरुको सौन्दर्य पोखिएको छ आज । बेग्लाबेग्लै सुर ताल र लयका महिलाहरुको चित्ताकर्षक जमघट भएको छ ।

निलकमल महिला साना किसान कृषि सहकारी संस्था,रयालेको तेस्रो साधारण सभाको दृष्य हो यो । साँच्चै फेरिन थालेका छन् ग्रामिण महिलाहरु । परम्पराले हिर्काएर अड्याउन कहाँ सक्छ र १ चेतनाको राँको झोसिसकेको छ समयले तिनमा । तर यो परिवर्तनलाई त्यति सहज आएको भनेर अथ्र्याउन खोजे समाज परिवर्तनको निम्ती लाग्ने अभियन्ताहरुप्रति अपमान गरेको ठहरिएला कि ।

कार्यक्रम सुरु भयो निर्धारित समयभन्दा झण्डै दुईघण्टा ढिलो । अझै समयको महत्व अथ्र्याउन बाँकी रहेछ महिलाहरुलाई । संस्थाकी सचिव मिरा सापकोटाले संचालन गरिन कार्यक्रम । सभाध्यक्षको आसनमा संस्थाकी अध्यक्ष अनिता सापकोटा विराजमान भइन । आसन ग्रहणको लागि निम्त्याइए आधा दर्जन जति महानुभावहरु । श्री शान्ति निकेतन माविको प्रागंण झकिझकाउ थियो । झनै महिलाहरु सजिएर आएका थिए आफ्ना सबै पिरव्यथालाई घरको सन्दुकमा बलियो भोटेताल्चा मारेर । सायद त्यहि भएर होला आज महिलाहरुको मुहारमा चमक छाएको देखिन्थ्यो । मौसम पनि महिलाको खुशीमा खुलेर हाँसेको देखियो ।

संस्थाकी सदस्य निशा सापकोटाले मृदुमुस्कानका साथ छोटो तथा मिठा शब्दमा स्वागत गरिन । सुभकामना मन्तव्य दिन वोलाइएकाहरुले संक्षेपमै आफ्ना कुरा राखे । जनइच्छा सहकारीका कोषाध्यक्ष राजकुमार सापकोटा,न्यू राइजिंग स्कुलका प्रअ कुलप्रसाद सापकोटाले महिलाहरुको सहयोगको लागि संस्थाले राम्रो गरेकोमा धन्यवाद दिए र आफना संस्थाका तर्फवाट आवश्यक सहयोग गर्ने प्रतिवद्धताले महिलाहरुमा उत्साह थपे । अर्का अतिथि फुलचोकी साकोसका अध्यक्ष प्रदीप सापकोटाले सहकारीको जगमा महिला आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । महिला सहकारीले महिलाको आर्थिक विकासकालागि उद्यमशिल हुन महिलालाई आग्रह गरे साथै सामाजिक सचेतनता र महिला शसक्तिकरणमा सहकारीको भूमिका अथ्र्याए ।

कार्यक्रमस्थल नजिक सहभागीहरुलाई दर खुवाउन पक्वानहरु पकाउँदैथिए यदुकुमारहरु । केहि महिलाहरु तरकारी काट्ने जोहो गर्दैथिए । साँच्चै नै वातावरण नै महिलाहरुको निम्ती उत्साह भर्ने थियो । महिलाहरुको कार्यक्रममा पुरुषहरु सघाउदै थिए ।
भविष्यलाई अघि वढाउ

बचत गर्न जाँउ हिंड ए साथी गरिवी र अशिक्षा हटाँउ

भन्दै थिए अम्बिका, स्वस्तिका र कमला सापकोटाहरुको समुह मादलको घिनघिनाघिन संगै । महिलाले केही गरेर देखाउने आग्रह गर्दै थिए चन्द्रावती, विनिता श्रेष्ठ र पवित्रा सापकोटाहरु :

रयालेको इतिहास लेखाउन
महिलाले केहि गरी देखाउन ।

विभिन्न भावमा संरचित गीतहरु प्रस्तुत भए त्यहाँ । महिलाहरु आफ्ना विरह वेदना पोखेर मन हलुँगो पार्दै थिए । कतै महिला ह्रदय भक्कानिदै थियो त कतै भोगाइका पीडादायी परिवेश चित्रण गरिएको थियो । लाग्थ्यो जिन्दगी सुख दुखको दुइ किनारा हो । कार्यक्रममा विभिन्न समूहले जीवनका भोगाइमा फुलेका मखमली र सयपत्री फुलहरुलाई गीत वनाएर अर्पण गरे ।

महिलाले नि काम गरी खाका छन
राष्ट्रपति महिला नै भाका छन् ।

वर्तमान सन्दर्भमा महिलाहरुमा आएको चेतना मुखाकृत भएर बोले गीतमा । महिलालाई पनि कमजोर नठान्न चुनौति दिए आफ्ना गीत मार्फत पार्वती, संगिता र अप्सरा सापकोटाले । प्रतिमा, भवानी र यशोदा सापकोटाको टोलीले गाँउमा विकास गर्न महिलाहरु एक भएर लाग्नुपर्ने, विकृति र विसंगतीको माखेसाँग्लो तोड्न एक भएर मात्र सकिने भावका गीतहरु प्रस्तुत गरे । कार्यक्रममा प्रस्तुत भएका गीतहरुले संस्कृति जोगाउ तर विकृतिमुक्त भएर भन्ने आव्हान गरेका थिए । दुख,वेदना,संघर्ष र परिवर्तनका गीतहरु घन्किएका थिए ।

संस्थाका उत्कृष्ट वचतकर्ता, ऋणी र वालवचतकर्ताहरुलाई पुरस्कार वितरण गरिएको थियो । उत्कृष्ट वचतकर्ता मध्येको पहिलो पुरस्कार पाउने मेनुका सापकोटा खुशीले गद्गद देखिन्थिन् । उनलाई दुध बोक्ने क्यान पुरस्कार दिइएको थियो । यसरी दैनिक उपयोगमा आउने सामाग्री पुरस्कार दिनु सह्रानिय कदम देखिन्थ्यो । कोषाध्यक्ष देवकी अधिकारी तिमल्सिनाले कार्यक्षेत्र फरक बसोवास गर्ने कारण संस्थावाट विदा लिइन उनलाई संस्थामा गरेको योगदानको लागि दोसल्ला ओढाइ कदर पत्र प्रदान गरि सुसभ्य संस्कारको विकास गरेको पाइयो । यो अरुको निम्ती पनि अनुकरणिय हुनसक्छ । उनको सट्टामा सभाले कर्तलध्वनीका साथ अनिता तामांगलाई कोषाध्यक्षमा चयन गर्यो ।

संस्थाको हालसम्मको प्रगति विवरण अध्यक्ष र आर्थिक प्रतिवेदन कोषाध्यक्षले प्रस्तुत गरे । २०७३ सालमा गठित महिला सहकारीमा ३७७ जना शेयर सदस्य छन् । कार्यक्रममा प्रमुख अतिथि पनौती नपा १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले महिलाहरुले समय ब्यवस्थापन गर्न पर्नेमा जोड दिंदै महिलाहरुको निम्ती आवश्यक सहयोग गर्न पछि नपर्ने बताएका थिए । कार्यक्रममा वडा सदस्य नर वहादुर तामांगले पनि आतिथ्यता गरेर सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी अतिथिहरुलाई मायाको चिनो प्रदान गरे आयोजकहरुले ।

अन्त्यमा , तिजको शुभकामना आदानप्रदान सहित मिठो दर पस्किए आयोजकहरुले सहभागीहरुलाई । निरकमलका आयोजकहरुको कार्यक्रम कार्यक्रम र जमघट अत्यन्तै सुखद थियो । महिलाहरु दरमा रमाउँदै गीतको तालमा उन्मुक्त भएर भरपुर मनोरन्जन गर्दै थिए । ।

[email protected]

प्रतिक्रिया दिनुहोस्